तिमीमेरी संसार (www.timimeri.blogspot.com)मा हजुरहरुलाई स्वागत छ !! आशा छ यहाँ हरुले यो ब्लग बाट पूर्ण मनोरन्जन लीन सक्नुहुनेछ !!! कृपया हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिन नछूटाउनु होला , हजुरको प्रतिक्रियाले अझ सबल हुने मौका मिल्नेछ !!!

'मम्मी'को अभावमा मेरी छोरी

विकिलिक्सको सूचनाले संसार हल्लाएको छ। पारसको गोली–प्रकरणले नेपाल। तर, मलाई भने पछिल्ला केही दिनदेखि बिरामी परिरहेकी मेरी चार वर्षीया छोरीको मनोदशा, भाव–भंगीमा र व्यवहारले हल्लाउनसम्म हल्लाएका छन्। उसको निर्निमेष हेराई, कलेठी परेका ओठ र लोलाइरहेका आखाँका भावले छोरीमा अन्तरनिहीत एकान्तता र अपर्याप्तताको छनक दिइरहेको जस्तो लाग्न थालेको छ। अभिभावक भएपछि सामान्य कुराको पनि अर्थ खोज्नु पर्ने रहेछ। वा, खोजिँदो रहेछ। कहिलेकाँही यस्ता सामान्य कुराले असामान्य प्रकृतिको अनुभूति पैदा गर्दा रहेछन्। त्यसैले त सबै अभिभावक संवेदनशील हुन्छन्। सायद, माया भनेकै यही पो हो कि !

झन् दुख्खको घडीमा त यस्तो संवेदशिलता मैन पग्लेजस्तै पग्लदो रहेछ। जलिरहेको बत्तिमुनि थुप्रिएको मैनजस्तै मुटुको अन्तरकुन्तरमा जम्मा हुदोरहेछ भावुकताको यस्तो यौगीक, जहाँ खुशी नामको तत्व पटक्कै हुँदैन।

‘तिमीलाई कस्तो छ नानु?’, राती अबेर कार्यालयबाट फर्केर निधार छाम्दै बिरामी छोरीलाई मैले सोधपुछ गरेको थिएँ, अघिल्लो साताको अन्तिम दिन। छोरीलाई हन्हनी ज्वरो आइरहेको थियो। अशक्त थिई। अनुहार पुरै फुङ उडेजस्तो निस्तेज थियो। उसले काँपिरहेका ओठ सल्बलाउँदै भनेकी थिई, ‘बाबा मलाई केही भएको छैन। भोलि स्कुल जान्छु। भर्खरै चार वर्ष पूरा भएकी छोरीले किन यसो भनिरहेकी छे भेऊ पाउन मलाई साह्रै गाह्रो भयो। मैले सोचेँ, छोरीले मलाई आश्वस्त पार्न खोजिरहेकी छे।

उसलाई थाहा छ, दुध ख्वाउँदा–ख्वाउँदैकी मम्मीले छोडेर विदेश गएपछि स्याहार–सुसारको जिम्मेवारी सम्हाल्दै आउनुभएकी झण्डै ८० वर्षीया हजुरआमाको हात भाँच्चिएको छ। हातमा लगाइएको गरुङ्गो प्लास्टर थाम्न नसकेर उहाँ ओच्छ्यानमै सुतिरहनु हुन्छ। त्यसैमाथि पनि उहाँलाई रुघा, खोकी र ज्वरोले सताइरहेको छ। त्यसैले होला, त्यो दिन छोरी हजुरआमालाई छाडेर मेरो ओच्छ्यानमा आएर छेउमा सुती। ज्वरो नापेँ। १०३ डिग्री थियो। औषधी दिएँ। ज्वरो थामिएन। ऊ अझै काँपीरहेकी थिई। म अत्यन्तै मानसिक थकानमा थिएँ। कतिबेला झकाएछु पत्तै भएन।
  छोरीको बर्बरावटले म झस्केँ। उसले निरन्तर ‘मम्मी मम्मी मम्मी….’ भनिरहेकी थिई। निधार छामेँ। ज्वरो, आगाको भुंग्राजस्तो थियो, पटक्कै घटेको थिएन। म एकाएक अत्तालिएँ। मम्मीले छोडेर गएको झण्डै दुई वर्षसम्म केही पटकबाहेक मम्मीको नाम नलिएकी छोरी बिरामी परेका बेला किन यति व्यग्र तरीकाले मम्मी खोजिरहेकी छे? उठेर बत्ति बालेँ। रातको २ बजेको रहेछ। उसलाई उठाएँ। र, काखमा लिएँ। छोरीले अझै भन्दै थिई, ‘मम्मी खोई बाबा?’, मसँग खासै उसलाई चित्त बुझाउन सक्ने जवाफ थिएन। र, अहिले पनि छैन। मलाई चित्त बुझ्नु र सानी छोरीलाई चित्त बुझ्नुमा
  पक्कै पनि अन्तर छ। मैले भनें ‘मम्मी किन चाहियो?। बाबा छ। आमा हुनुहुन्छ। सबै छौँ नि हामी।’ मैले यसो भनिरहँदा मेरा आखाँबाट स्वभाविक रुपमा आँसु चुहिरहेका थिए। छोरीले मलाई एकोहोरो हेरिरही, चिम्सा आँखा बनाएर। वातावरण बडो स्तव्ध भयो। निमेष भरपछि छोरीले मम्मीको प्रसङ
  मोड्न चाही। र, मेरो निधारमा हात राख्दै भनी, ‘ बाबालाई पनि ज्वरो आएको छ।
 औषधी खानुस्।’ बिरामी छोरीले मेरा आँसु देखेपछि मम्मीको खोजी गर्न छोडी। उसको मनले हो कि, मेरो भंगीमाले ! त्यो भने मलाई थाहा छैन। जे होला, छोरीकै मनमा होला।
यो बीचमा छोरीलाई केही बिसेक भयो। कम्तिमा ज्वरो छैन। तर पनि उसको अनुहार, हाउभाउ र भाव भने जस्ताको त्यस्तै छ। बब डेलन र बिटल्सका संगीतमा गुनगुनाउँदै कोठामा नाच्ने मेरो छोरीको मानी हराएको छ। जन्म दिनमा मित्रहरु विनोद, दिपक र राजेशले ल्याइदिएको गिटार बजाउँदै रेशम फिरिरी गाउने मेरी प्रिय छोरी अहिले टोल्हाइरहने, धेरै नबोल्ने
 र आफूमै कतै हराएजस्तै छे। ‘यसले सपनामा ममीलाई देखेजस्तो छ। त्यसको असर हुनसक्छ’ उसकी वृद्धा हजुआमा पनि नातिनीको अवस्थादेखि चिन्तित हुनुहुन्छ। छोरीको यस्तो अवस्थालाई ‘रिकभर’ गर्न मैले फेसबुकमा उसको ममीले राखेका केही ताजा तस्विर देखाएँ। छोरीले भनी ‘ यो हाम्रो मम्मी होइन बाबा।’ सायद पहिरन र तस्विरमा देखिएका ‘पोज’का कारण छोरीले मम्मी ठम्याउन नसकेकी हुन पनि सक्छे। या, उसले ममीसँग घुमाउरो शैलीमा आफ्नो आक्रोश अभिव्यक्त गरेकी पनि हुन सक्छे। साँच्चै बुझिनसक्नु रहस्यमय हुँदोरहेछ, बालमनोविज्ञान।
जचाउन हस्पिटल जान्छु भन्दै ममी जहाज चढेको केही दि
 नमा छोरीले हजुरआमासँग भनेकी थिई, ‘ ममीको दुधभन्दा गाईको दुध मिठो छ है आमा?’ हजुरआमाले नातिनीको प्रतिक्रियालाई कसरी लिनु भो थाहा छैन, तर मैले भने उसको यो भनाईलाई मम्मीसँगको विछोडको परिलक्षणका रुपमा लिएको थिएँ। त्यसको केही दिनमा कुनै छिमेकीले छोरीलाई सुनाइदिएछ, ‘तिम्रो मम्मी त विदेश गई।’ निन्याउरो अनुहार पार्दै छोरी मलाई खोज्दै मेरो कोठामा आई। र, कपाल कन्याउँदै भनी ‘ बाबा, ममी त मिनु दिदीसँग गएछ नि, विदेश। हाम्रो मम्मि झुट रहेछ।’ अन्तरजातीय
  जोडीबाट जन्मेकीले होला मेरी छोरीको बोल्ने लवज मंगोलियन परिवारको जस्तो छ, जसलाई म परिवर्तन होस् भन्ने चाहन्न। त्यसपछि भने मैले मम्मी विदेश जानाको कारण नलुकाई बताइदिएको थिएँ, छोरीलाई। त्यसको धेरै महिनासम्म ऊ चुपचाप थिई। स्कुल जान्थी। खेल्थी। काटुर्न हेर्थी। गीत गाउँथी। कहिलेकाही हजुरआमासँग पैसा मागेर हैरान पार्थी। तर कहिल्यै मम्मीको ‘म’ पनि उच्चारण पनि गर्दैन्थी।
एक दिन मैले छोरीलाई कमलपोखरीस्थित सिटिसेन्टरको ‘किड्स
  प्लेइङ जोन’ लिएर गएको थिएँ। त्यहाँ उसले धेरै बालबालिका देखी। अधिकांश बालबालिकाका साथमा उनीहरुमा आमा थिए। खेल्न सिकाइरहेका थिए। रमाइरहेका थिए। अचानक मेरी छोरीले त्यहाँ बस्न मानिन। खेल्न मानिन। उसले घर फर्कौ भनेर हैरान पारी। मलाई लाग्यो, आमाहरुसँग रमाइरहेका बच्चाहरु देखेपछि उसलाई पनि ममीको याद आए होला। ट्याक्सी चढेर घर फर्किर्दै गर्दा मैले छोरीलाई सोधें ‘ ममीको याद आयो है नानु?’ उसले होइन भन्दै टाउको हल्लाए पनि उसको अनुहारको भावले भनिरहेको थियो, ऊ चिन्तित छे कसैको यादमा। निर्लिप्त छे, कसैको सम्झनामा।
बस्ने बासस्थान वरिपरि कहिलेकाहीँ मैले छोरी साथमा लिएर हिँड्छु।

  चिनजानेकाहरुले प्रतिक्रिया दिन्छन् ‘लौ हेर ! यति सानी नानी छाडेर, विदेश जान सक्ने आमाको मन पनि कठोरै हुनु पर्छ।’ प्रतिक्रिया सुनेपछि अघिसम्म रमाइरहेकी , गफिदैरहेकी मेरी छोरी एकाएक मौन बन्छे। स्तव्ध बन्छे। र, टुलुटुलु भूईँतिर मात्र हेरिरहन्छे। यस्तो अवस्थामा म बडो विचलित हुन्छु। त्यसैले छोरीलाई बाहिर लिएर हिँड्दा विचार पुर्‍याउन थालेको छु, मैले। घरमा आएका एकाध आफन्तहरुलाई त मैले नराम्रेरी झपारेको पनि छु। तर छोरीको मनोविज्ञान, व्यवहार र भावना पढ्दा भने उसभित्र ‘मम्मी अभाव’को आँधीबेरी चलिरहेको अनुमान गर्न मलाई पटक्कै कठिन छैन।

  यस्ता अनुभवहरु मात्र होइनन्, वृद्धा हजुरआमा विरामी परेर दिनभर चाउचाउको भरमा बस्नुपर्दाको छोरीको मनोविज्ञान पनि जाँचेको छु मैले। छामेको छु उसका नाडी र मुटुको धड्कन पनि। आत्मविश्वासहित छोरीकै भविष्यका लागि भनेर विदेश पुगेकी उसकी मम्मीले छोरीलाई त्यत्तिकै ‘मिस’ गरेकी होलिन्। तर मसँगै भएकाले त्यो ‘मिसिङ’भन्दा छोरीले गरिरहेको ‘मिसिङ’ बढी घनिभूत छ भन्ने मलाई लागेको छ।
थाहा छैन, मेरी छोरीको यस्तो पछिल्लो मनोदशा कहिले ट्रयाकमा आउने हो ! म चाहन्छु मेरी छोरी पहिलाजस्तै मसँग खेलोस्। मेरो कपाल लुछोस्। गीत गाओस्। मलाई सताओस्। र, उसको अनुहारमा सधैं–सधैं खुशी देख्न पाइयोस्।



साँच्चै सान्दर्भिक लाग्यो यो लेख ............नारायण अमृतजी को रचना मेरोसंसार.कम बाट साभार गरियको ...........

No comments:

Post a Comment